८ जेठ, काठमाडौं । संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने जनाएका विपक्षी पाँच दल सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेको छन् ।
विज्ञप्तिमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकबाट पनि त्यसको प्रतिरोध हुने र सर्वोच्च अदालतमा पनि रिट दिने बताए । ‘हामी हिजोका सबै १४९ जनाको हस्ताक्षर लिएर सर्वोच्च अदालतमा रिट हाल्न जान्छौं,’ प्रचण्डले भने,‘अदालतले लोकतन्त्रको पक्षमा निर्णय गर्नेछ भन्ने हामीलाई विश्वास छ ।’ उनले सरकारले घोषणा गरेको कात्तिक-मंसिरको चुनावबारे के गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताए ।
