एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र ११, २०८० ।
गत मंगलबार राति सुतिरहेका आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । बझाङ सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा भएको उक्त घटनामा तीन जना घाइते भएका थिए ।
घटनामा संलग्न कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका उनले प्रहार गरेको छुराबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका थिए ।
चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन । राति १२ बजेतिर अनुहार मास्कले ढाकेर लुटपाट गर्ने उद्धेश्यले कोठाभित्र छिरेको र मान्छेले आफू पसेको थाहा पाएपछि छुरा प्रहार गरेको चौधरीले प्रहरीसमक्ष बताएका छन् । उनलाई कैलालीस्थित उनकै घरबाट पक्राउ गरिएको हो ।
चक्कु प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । छुरा प्रहारबाट आमाको घाँटी र छातीमा चोट लागेको छ । बच्चाहरूको अनुहार, छाती, घाँटी र पिठ्यूँमा चोट लागेको छ ।