समाचार

दुबईमा ८ नेपाली कोठामा बन्दी, उद्धारको हारगुहार

manpower 57Ul4wOUMO DiH3I0YyHk.jpg.1220x800 q70 crop smart

एनएमबि न्युज डेक्स, काठमाडौँ
मंसिर १२ मंगलबार ।

भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी। पारिवारिक समस्याले उनी ऋणमा चुर्लुम्मै डुबे। ऋणको बोझ हटाउन श्रीमतीसहित वैदेशिक रोजगारीमा जाने उनले निधो गरे। अन्सारीले आफू र श्रीमती अफ्रुज खातुनको राहदानी बनाए। फर्निचरको काममा दुवै विदेश जाने सोचमा पुगे। अनि म्यानपावर एजेन्टहरूसँग सम्पर्क गर्न थाले। यसै क्रममा आफूले सञ्चालन गर्दै आएको फर्निचर पसल उनले बन्द गरे।

भद्रपुर–८ स्थित फूलबारी टोलनिवासी अन्सारीको अन्ततः दुबईको भिसा लाग्यो। श्रीमतीको चाहिँ लागेन। अन्सारीलाई काठमाडौंं धुम्बाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालिले गत असोज २८ गते दुबईस्थित जेबेल अली उडायो। उक्त म्यानपावर कम्पनीले फ्री भिसा, फ्री टिकटको समेत धज्जी उडाउँदै आफूसँग १ लाख ७५ हजार रुपैयाँँ लिएको अन्सारीले बताए। उनले म्यानपावर कम्पनीसँग गरेको सम्झौताअनुसार उनलाई चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कारपेन्टर ९फर्निचरको काम० दिने भनिएको थियो। उक्त कामबापत उनलाई मासिक तलब १ हजार १ सय २० दिरहम ९करिब ४० हजार नेपाली रुपैयाँँ० दिने सर्त थियो। अन्सारीसँगै अन्य आठ नेपालीलाई पनि सागर म्यानपावरले सोही कम्पनीमा उही कामका लागि भन्दै दुबई पठाएको छ।

दुबईको जेबेल अली पुगेपछि उनीहरूलाई भिन्न काममा लगाइयो। फिनिसिङ कार्पेन्टर भनेर दुबई लगिएकोमा त्यहाँको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङले उनीहरूलाई बेल्चा हान्ने लेबरको काम लगायो। यसरी लेबरको काममा लगाएर उनीहरूलाई बिचल्लीमा पारियो। काम फरक परेको भन्दै उनीहरूले सागर म्यानपावरका प्रतिनिधिहरूलाई तत्काल जानकारी गराए। तर, उनीहरूले यस विषयमा खासै चासो देखाएनन्। म्यानपावरले फर्निचरको काममा पठाएका श्रीमान्लाई बेल्चा हान्न लगाउँदा उनी बिचल्लीमा परेका अन्सारीकी श्रीमती अफ्रुज खातुनले गुनासो पोखिन्। दुबई गएको ९ दिनमै श्रीमान् ओछ्यानमा थला परेका बताउँदै खातुनले भनिन्, ‘परिवारमा ऋण लागेर श्रीमान् कमाउन विदेश जानुभएको हो, उहाँँलाई फर्निचरसम्बन्धी काम आउँछ। ८ दिन बेल्चा हान्दा सिकिस्त बिरामी पर्नुभयो।’

 

१ लाख ७५ हजार ऋण काढेर श्रीमान्लाई दुबई पठाएको उनले बताइन्। ‘काम भनेजस्तो नहुँदा ऋणको बोझले उहाँँको मानसिक सन्तुलन झन् बिग्रिँदै गएको छ’, उनले भनिन्, ‘करिब १५ दिन ओछ्यानमा थला पर्दा उहाँँ मृत्युसँग लडिरहनुभएको थियो। धन्न सँगै गएका साथीहरूले हेरचाहसँगै उपचार गराउँदा उहाँँ सकुशल हुनुहुन्छ।’

श्रीमान्लाई नेपाल झिकाउन उनी सबैतिर भौतारिरहेकी छन्। तर, उनको सुनुवाइ भएको छैन। ‘मलाई यहाँँबाट नेपाल फर्काइदिनु भन्दै श्रीमान्ले पनि रुँदै घरमा फोन गर्नुहुन्छ’, उनले भनिन्। म्यानपावरलाई श्रीमान् फर्काइदिन आग्रह गर्दा उल्टै २५०० दिरहम मागेको उनले दुःखेसो पोखिन्।

अन्सारी जस्तै झापाका राजकुमार ताजपुरिया, झापाकै महेश राजवंशी, मोरङका राहुल शर्मा, रुपन्देहीका अमितकुमार लोहार, नवलपरासीका ईश्वर गुप्ता, नुवाकोटका हिमाल लामा र नुवाकोटकै राजकुमार तामाङ पनि सागर म्यानपावरको बदमासीले बिचल्लीमा परेका छन्। म्यानपावरले भनेजत्तिको पैसा लिएर फिनिसिङ कारपेन्टरमा सम्झौता गरेर दुबई पठाए पनि भवन निर्माणसम्बन्धी काममा लगाएको झापाका राजकुमार ताजपुरियाले बताए। ‘म्यानपावरले हामीलाई ढाँट्दा दुबईको एउटा कोठामा बन्दीसरह बसिरहेका छौं’, झापा शिवसताक्षी नगरपालिका–५ का ताजपुरियाले भने, ‘म्यानपावरले सम्झौताअनुसार काममा लगाइदिनुपर्‍यो, कि हामीलाई सकुशल नेपाल फिर्ता पठाइदिनु पर्‍यो’, उनले भने।

म्यानपावरले नेपालबाट एकैपटक ६० जनालाई फिनिसिङ कार्पेन्टरमा दुबई पठाएको नुवाकोटाका हिमाल लामाले बताए। ‘दुबई आउनुअघि हामी सबै नेपालमै फर्निचर बनाउने काम गरिरहेका थियौं। त्यही कामको इन्टरभ्यु लिएर म्यानपावरले हामीलाई यहाँँ पठाएको हो’, उनले गुनासो गरे। साथीहरू भनेअनुसार उनीहरूले ६० हजारदेखि २ लाख रुपैयाँँसम्म रकम बुझाएर दुबई आएका उनले बताए।

उनले भने, ‘यहाँँ आइपुग्दा फर्निचरसम्बन्धी कुनै काम कम्पनीसँग छैन। भवन निर्माणसम्बन्धी मात्र काम रहेछ। हामीलाई त्यही काममा लगायो।’ बेल्चा हान्दा अलिकति पनि काम बिग्रियो भने कम्पनीले पैसा काट्ने र गाली गरेपछि आफूहरूले काम गर्न नमानेको उनले बताए। उनले भने, ‘हामीलाई तत्काल उद्धार गरी नेपाल फर्काइदिनुहुन सबैसमक्ष हारगुहार र अनुरोध गरिरहेका छौं।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस