समाचार

शिक्षामा लगानी, भविष्यमा लगानी —

WhatsApp Image 2025 12 19 at 10.48.28 AM

काठमाण्डौं महानगरपालिकाले पछिल्लो एक वर्षमा शिक्षा क्षेत्रमा गरेको हस्तक्षेप केवल कार्यक्रमको सुची होइन, स्थानीय सरकारको दृष्टि र प्राथमिकताको स्पष्ट संकेत हो । एकै वर्षमा ३० हजार भन्दा बढी विद्यार्थीलाई पूर्ण छात्रवृति, ५६ हजारभन्दा बढीलाई निःशुल्क पुस्तक तथा अध्ययन सामाग्री, र १७ हजार भन्दा बढी छात्रालाई स्यानिटरी प्याड वितरण—यी तथ्यांक आफैंमा गम्भीर सामाजिक प्रतिबद्धताको साक्षी हुन् ।
शिक्षा महंगो हुँदै गएको र गरिब तथा मध्यम वर्गका लागि बोझ बनिरहेको सन्दर्भमा महानगरको यो पहल राहत मात्र होइन, अवसरको पुनःविवरण हो । छात्रवृतिले विद्यालय छाड्ने जाखिममा रहेका विद्यार्थीहरुलाई कक्षामा टिकाइराखेको छ भने निःशुल्क पुस्तकले शिक्षालाई अधिकारको रुपमा स्थापित गर्न मद्वत गरेको छ । छात्राका लागि स्यानिटरी प्याड वितरण गर्नु त अझै महत्वपूर्ण छ—यो शिक्षा र स्वास्थ्य बिचको अदृश्य तर निर्णायक सम्बन्धलाई स्वीकार गर्ने साहसी कदम हो ।
अर्कोतर्फ, ३९ वटा विद्यालयले आफ्नो नाम नेपालीकरण गर्नु सामान्य प्रशासनिक निर्णय होइन । यो भाषा, संस्कृति र पहिचान प्रतिको सम्मान हो । शिक्षा केवल पाठ्यक्रम पढाउने माध्यम होइन, चेतना र आत्मसम्मान निर्माण गर्ने प्रक्रिया हो भन्ने बुझाइ यस कदममा झल्किन्छ ।
तर यी उपलब्धिहरुमा सन्तुष्ट भएर रोकिँदा हुँदैन । चुनौती अझै बाकी छन्‌—शिक्षाको गुण्स्तर, शिक्षक व्यवस्थापन, सिकाइ परिणाम र विद्यालयको भौतिक अवस्था । यद्यपि, महानगरले देखाएको प्राथमिकता सही दिशातर्फ छ ।
काठमाण्डौं महानगरपालिकाको यो अभ्यासले शिक्षा क्षेत्रमा लगानी गरे भविष्य सुरक्षित हुन्छ भन्ने पुरानो भनाइलाई पुनः पुष्टि गरेको छ । अब आवश्यक छ—यस प्रतिबद्धतालाई निरन्तरता, पारदर्शिता र दीर्घकालीन योजनासँग जोड्नु । तब मात्र शिक्षा साच्चै सामाजिक रुपान्तरणको आधार बन्न सक्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस