आज डिसेम्बर २५, विश्वभर इसाई धर्मावलम्बीहरुले येशु ख्रीष्टको जन्मदिन “क्रिसमस डे” श्रद्धा र उल्लासका साथ मनाइरहेका छन् । महानताका महान् मार्गदर्शक येशु ख्रीष्टले संसारलाई प्रेम, क्षमा र करुणाको बाटो देखाएका थिए । आजको दिन केवल धार्मिक पर्व मात्र होइन, मानव सभ्यताले आत्मसात् गर्नुपर्ने मूल्य र संस्कारको स्मरण पनि हो ।
नेपालमा पनि क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिइएको छ । विविध, भाषा र संस्कृतिको संगम रहेको हाम्रो समाजमा यस्ता पर्वहरुले आपसी सहिष्णुता र सहअस्तित्वलाई अझ मजबुत बनाउने काम गर्छन् फरक विश्वासका बीच पनि एक अर्काको आस्थाप्रति सम्मान गर्नु नै साँचो लोकतान्त्रिक र सभ्य समाजको पहिचान हो ।
आजको विश्व, हिंसा, असहिष्णुता र विभाजनको चपेटामा परेका बेला येशु ख्रीष्टले दिएका प्रेम र शान्तिका सन्देश झन् सान्दर्भिक देखिन्छन् । धर्मको सार आडम्बर होइन, मानवताको सेवा हो भन्ने चेतना फैलाउन क्रिसमसले सबैलाई आत्ममन्थन गर्न प्रेरित गर्छ ।
यस पावन अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीहरुलाई हार्दिक शुभकामना । क्रिसमसले सबैको जीवनमा शान्ति, सद्धभाव र उज्यालो भविष्यको आशा बोकेर जाओस् ।