विराटनगरमा भएको मोटरसाइकल दुर्घटनाले नेपाली क्रिकेटले एक आशालाग्दो प्रतिभा गुमाएको छ । राष्ट्रिय खेलाडी मिनष थापाको असामयिक निधनले केवल उनको परिवार मात्र होइन, सम्पूर्ण खेलकुद जगत् शोकमा डुबेको छ । खेल जीवनको उत्कर्ष तर्फ अघि बढिरहेका युवा खेलाडीको यसरी अकालमा जीवन समाप्त हुनु राष्ट्रका लागि अपूरणीय क्षति हो ।
कोशी प्रदेशबाट करिब नौ वर्षदेखी राष्ट्रिय स्तरमा क्रिकेट खेल्दै आएका थापा अनुशासन, मेहनत र सम्भावनाको प्रतिक थिए । मैदानमा उनले देखाएको समर्पण र भविष्यप्रतिको आशा आज एउटा दुर्घटनाले चुँडिएको छ । यो घटनाले हाम्रो सडक सुरक्षा प्रणाली, ट्राफिक सचेतना र नागरिक सुरक्षाप्रतिको गम्भीर प्रश्न पनि उठाएको छ । प्रत्येक वर्ष यस्ता दुर्घटनाले कति युवाको सपना चुँडिन्छन्, कति परिवार उजाडिन्छन् —तर हामी अझ यसलाई “संयोग” भन्दै बेवास्ता गरिरहेका छौं । दुर्घटना केवल व्यक्तिगत लापरवाही होइन, राज्यको कमजोर पूर्वाधार, अपर्याप्त ट्राफिक व्यवस्थापन र नागरिक सचेतनाको अभावको परिणाम पनि हो ।
मिनष थापाको निधनले खेल क्षेत्रलाई दिएको यो गहिरो घाउलाई सम्मानपूर्वक सम्झनु हाम्रो दायित्व हो । उनका सपनाहरु अधुरा नहोस् भन्नका लागि राज्य, खेल संघ र समाजले मिलेर सुरक्षित यातायात र खेलाडी सुरक्षामा गम्भीर ध्यान दिनु आवश्यक छ ।
शोकको यस घडीमा स्वर्गीय थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
उनको स्मृति नेपाली क्रिकेट इतिहासमा सदैवजीवित रहनेछ ।