८५ वर्षको राजनीतिक यात्रामा नेपालले थुप्रै व्यवस्था परिवर्तन गर्यो—जहाँ राणा शासन ढल्यो, राजतन्त्र समाप्त भयो र गणतन्त्र स्थापना भयो। तर रास्वपाका वरिष्ठ नेता बालेन शाहले शहीद दिवसको अवसरमा उठाएको प्रश्नले एउटा कटु यथार्थतर्फ औंला ठड्याएको छ—व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन।
उनको भनाइ केवल राजनीतिक टिप्पणी मात्र होइन, शहीदहरूको अधुरो सपना प्रतिको गहिरो चिन्ता हो। हजारौँले आफ्नो जीवन त्यागे पनि सुशासन, जवाफदेही राज्य र भ्र’ष्टाचारमुक्त समाजको सपना अझै अधुरै छ। सत्ता परिवर्तनलाई नै उपलब्धि ठान्ने प्रवृत्तिले राज्य सञ्चालनको संस्कार बदल्न सकेन भन्ने उनको संकेत गम्भीर छ।
आज पनि जनताले न्याय, सेवा र अवसरका लागि संघर्ष गर्नुपरेको अवस्था छ। यही सन्दर्भमा बालेन शाहले फेरि पनि जनताले ‘बलिदान दिनुपर्ने अवस्था’ आउनु लोकतन्त्रकै असफलताको सूचक भएको बताएका छन्। यो भनाइले व्यवस्था मात्र होइन, सोच र संस्कार परिवर्तनको आवश्यकता औंल्याउँछ।
शहीदको रगतको सम्मान केवल औपचारिक श्रद्धाञ्जलीमा सीमित हुनु हुँदैन। त्यो सम्मान तब मात्र सार्थक हुन्छ, जब राज्य भ्र’ष्टाचारमुक्त, पारदर्शी र जनताप्रति जवाफदेही बन्छ। अब शहीदको सपना पूरा गर्ने दायित्व वर्तमान पुस्ताको काँधमा छ—भोट मात्र होइन, चेतना र जिम्मेवारीका साथ इतिहास बदल्ने अवसर अझै बाँकी छ।