राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह फागुनको पहिलो हप्तादेखि देशव्यापी दौडामा निस्कँदै छन्। सातै प्रदेशमा ठूला सभाहरू आयोजना गर्दै जनताको बीचमा पुग्ने उनीहरूको तयारीले देशको राजनीतिक माहोलमा नयाँ तरङ्ग ल्याउने संकेत गरेको छ।
राजनीतिप्रति जनआस्था घटिरहेको, परम्परागत दलहरूप्रति निराशा बढिरहेको यस समयमा, रवि र बालेनको संयुक्त उपस्थितिले परिवर्तनको अपेक्षा बोकेका नागरिकमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। उनीहरूको अभियान केवल भाषण र भीड सीमित नभई, नागरिकसँग प्रत्यक्ष संवाद र समाधानमुखी राजनीतिलाई प्राथमिकता दिने उद्देश्यमा केन्द्रित रहेको बताइएको छ।
यस देशव्यापी अभियानको संयोजन उपसभापति डिपी अर्यालले गरिरहेका छन्। संगठनात्मक तयारी, स्थानीय तहसँगको समन्वय र कार्यक्रम व्यवस्थापनमा पार्टीले विशेष ध्यान दिएको देखिन्छ। यो अभियानले पार्टीलाई मात्र होइन, समग्र राजनीतिलाई नै नयाँ दिशातर्फ डोर्याउने अपेक्षा गरिएको छ।