बुबाको हत्या आरोपमा छोरा पक्राउ

५ असोज, तनहुँ । तनहुँ आबुखैरेनी गाउँपालिका ४, खस्‍राङका २१ वर्षीय वीरमान गुरुङ बुबाको हत्या आरोपमा पक्राउ परेका छन् । उनले ४१ वर्षीय बुबा राजकुमारको हत्या गरेको प्रहरीले जनाएको छ ।

बाबुको हत्यापछि जातीय रीतिरिवाजअनुरुप चिहान खनी पुरेर दाहसंस्कार गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि स्थानीयवासीको रोहवरमा उक्त शव सुरक्षित साथ उत्खनन गरिएको थियो ।

छोराले गत भदौ ३१ गते आफ्नै घरमा कर्तव्य गरी बाबुको हत्या गरेको र शव उत्खनन गरी शवजाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

अभियुक्तलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

एनएमबि न्यूज