समाचार

कोरोना संक्रमणबाट निको भएका व्यक्तिहरुले त्रिवि शिक्षण अस्पतालबाट सुरु गरे प्लाज्मा दान अभियान

Teaching hospital

७ असोज, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन् ।

कोरोना भाइरस संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले बुधबारदेखि प्लाज्मा दान अभियान सुरु गरेका हुन् । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना भाइरस संक्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको सुरुवात गरेका हुन् । उनीहरुले ‘मैले जितें कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्‍ने नारासहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन् ।

कार्यक्रममा त्रि.वि.शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोरोना भाइरस संक्रमणबाट मृत्युसँग लडिरहेका विरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान शुरु गरिएको बताए । प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको पनि उनले बताए ।कार्यक्रममा कोरोना भाइरस संक्रमणबाट निको भएका व्यक्तिहरुले संक्रमितहरुको अत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताए । उनीहरुले संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्त्वपूर्ण हुने भएकाले आफूहरुले प्लाज्मा दान अभियानको सुरुवात गरेको बताए । ‘मिल्नेले दान गरौं नमिल्नेले उत्प्रेरित गरौं सबै लागौं सँगसँगै लागौं’ भन्दै अभियान सुरु गरिएको उनीहरुले बताए ।

पछिल्लो समय प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन् । सरकारले पनि परीक्षणको रुपमा विरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैले संक्रमण निको भएका व्यक्तिहरु पनि प्लाज्मा दिएर संक्रमणसँग लडिरहेका बिरामीहरुको जीवन रक्षा गर्ने अभियानमा जुटेका हुन् । यो अभियानलाई देशैभर सञ्चालन गर्नेपनि उनीहरुले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस