१२ असोज, काठमाडौं । प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्नाका लागि अहिलेसम्म स्वीकृति नदिएको भन्दै आलोचना भइरहेका बेला प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुला गरेको छ ।
सोमबार बसेको प्रदेश २ मन्त्रीपरिषद बैठकले प्रदेश लोकसेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवामा सातौं तहसम्मको भर्ना लिन स्वीकृति दिने निर्णय गरेसँगै कर्मचारी भर्ना लिने बाटो खुला भएको हो ।
प्रदेश निजामित सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिइएको छ । त्यस्तै, बैठकले लोकसेवा आयोगको ओ.एण्ड. एम. पारित गर्नुका साथै लोकसेवाको सचिवमा कामकाज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको जनाइएको छ ।
कोरोना महामारीमा प्रदेशमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश सरकारले यी दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया समेत सुरु गरेको जनाएको छ ।