१७ असोज, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना भाइरस संक्रमित वृद्धा महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ की ६८ वर्षीया वृद्ध महिलाको बिहान २ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार स्वाबको पीसीआर परीक्षण गराउँदा असोज ११ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएकै दिन कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि वृद्ध महिलाको उपचार सफल हुन नसकेको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।
उनका अनुसार ती महिलालाई पछिल्लो समय श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो । मृतकमा दम र खोकीको पुरानो समस्या रहेको सिग्देलले बताए ।
प्रतिक्रिया दिनुहोस