चितवनको माडीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

१८ असोज, चितवन । चितवनको माडीमा वन्यजन्तु धपाउन बिछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।

उनका अनुसार  वसन्तपुरस्थित खेतमा गैँडा धपाउन बिछ्याइएको बिजुलीको नाङ्गो तारको करेन्ट महतोलाई हिँडिरहेका अवस्थामा लागेको थियो ।  करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।