२० असोज, ललितपुर । ललितपुरमा कोरोना संक्रमितको संख्या ३ हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार २६२ पुगेको छ । हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ८०३ रहेको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ४३० र मृतकको संख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालय र जिल्लाको तथ्यांकमा केही फरक देखिएको छ । ललितपुरको ठेगाना राखेर अन्य जिल्लामा बसोबास गर्ने मानिसको तथ्यांक पाइएको हुँदा कूल संक्रमितको संख्यामा केही फरक देखिएको हो ।’ त्यसलाई खोजेर मिलाउने काम गरिने गेलालले जानकारी दिए ।
ललितपुर महानगरपालिकामा कोरोना संक्रमितको संख्या १ हजार ९८८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ८८, सक्रिय संक्रमित ८७९ र मृतक २१ रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । उनले भने, ‘सक्रिय संक्रमितमध्ये ८१२ होम आइसोलेसनमा र ६७ जना अस्पताल रहेका छन् ।’
गोदावरी नगरपालिकामा संक्रमित संख्या २०३ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १३२, होम आइसोलेसनमा ५७, बडिखेल आइसोलेसनमा ६ र मृतकको संख्या ३ रहेको नगरपालिकाले जनाएको छ ।
महालक्ष्मी नगरपालिकामा संक्रमित संख्या ४०८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २३५ र मृतक २ रहेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । उनले भने, ‘सक्रिय संक्रमित १७१ मध्ये २२ अस्पताल र १४९ होम आइसोलेसनमा रहेका छन् ।’
महांकाल गाउँपालिकामा संक्रमित संख्या १२ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ७ रहेका छन् भने १ जना अस्पताल र ४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए ।
कोञ्ज्योसोम गाउँपालिकामा पनि कूल संक्रमित संख्या १२ पुगेको छ । तीमध्ये ४ सक्रिय र बाँकी ८ जना कोरोना निको भई डिस्चार्ज भइसकेको संयोजक नवलकिशोर महतोले बताए । बाग्मती गाउँपालिकामा कूल १२ संक्रमितमध्ये होम क्वारेन्टीनमा ५ र कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ७ रहेको संयोजक नवराज तिमिल्सिनाले बताए ।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्टार, प्रयोगशाला, बीएण्डबी र आनन्द वन अस्पतालले कोरोना परीक्षण गर्ने गरेका छन् । ललितपुरमा २२१ आइसोलेसन र ४०८ क्वारेन्टीन तयार भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रयोगशाला प्राविधिक उपेन्द्र लामिछानेले जानकारी गराए ।
'