२८ भदौ, काठमाडौं । जापानी खेलाडी नाओमी ओसाकाले तेस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् ।
न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै ओसाकाले तेस्रो पटक उपाधि जितेकी हुन् ।
चौथो वरियाताप्राप्त २२ वर्षीया ओसाकाले पहिलो सेट १-६ ले हारेकी थिइन् । पहिलो सेटमा कमजोर प्रदर्शन गरेकी ओसाकाले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरिन् । ओसाकाले बाँकी सेट ६-३, ६-३ को सेटमा जितेकी थिइन् ।
ओसाकाको यो दोस्रो युएस ओपन उपाधि हो। उनले यसअघि न्युयोर्कमा २०१८ मा उपाधि जितेकी थिइन् । जुन ओसाकाको पहिलो ग्राण्ड स्लाम उपाधि थियो। त्यसपछि ओसाकाले २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। यो उपाधिसँगै ओसाकाले फाइनल खेलेको सबै ग्राण्ड स्लामको उपाधि जितेकी छिन् ।
‘‘अजरेन्कासँग अब कहिल्यै फाइनलमा प्रतिस्पर्धा गर्न नपरोस् । उनीविरुद्ध खेल्न कठिन हुन्छ । मलाई जित्न साच्चिकै कठिन भयो,’’ ओसाकाले भनिन्, ‘‘उनी मेरा लागि सधै प्रेरणादायी रहिन् । म सानो हुँदा पनि उनको खेल हेर्थे। आज पनि मैले उनीबाट धेरै कुरा सिके । त्यसका लागि धन्यवाद ।’’
पूर्वनम्बर एक अजरेन्काले २०१३ पछि पहिलो पटक ग्राण्ड स्लामको फाइनल खेलेकी थिइन् । २०१३ मा उनले अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । २०१६ मा छोरालाई जन्म दिएपछि अजरेन्का पुरानो लयमा फर्किन संघर्ष गरिरहेकी थिइन् ।