१७ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि दुई हप्ता मैदानबाहिर रहेका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित हासिल गर्न सफल भएको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियामाथि ४-१ को सहज जित हासिल गर्न सफल भएको हो । कोरोनाका कारण ४ खेल गुमाएका रोनाल्डो दोस्रो हाफमा सब्सटिट्युटका रुपमा मैदान प्रवेश गरेको तीन मिनेटभित्र नै गोल गरेका थिए ।
खेल १–१ को बराबरीमा रहेको बेला रोनाल्डोले गोल गर्दै युभेलाई अग्रता दिलाए । ७६ औँ मिनेटमा उनले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यमा एड्रियन राबियोटले युभेको लागि चौथो गोल गरे ।
यसअघि अल्भारो मोराटाले खेलको १४ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाए पनि टोमासो पोबेगाले बराबरी गोल फर्काएका थिए । जीतसँगै १२ अंक बटुल्दै साबिक विजेता टोली लिगको तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा युभेन्टस ४ अंकले पछि रहेको छ ।
रोनाल्डो गत १३ अक्टुबरमा कोरोना पोजेटिभ पाइएका थिए । समयमा नगेटिभ रिजल्ट प्राप्त नगर्दा गत बुधबार च्याम्पियन्स लिगमा बार्सिलोनाबिरुद्धको खेल उनले गुमाएका थिए ।
'