२७ पुस, काठमाडौं । गैरकानूनी रूपमा श्रीलंका पुर्याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका झापाको बुद्वशान्ति गाउँपालिका–२ घर भएका अमृत नेपाल भनिने ४१ वर्षीय अमृतबहादुर विश्वकर्मालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई घरबाट पक्राउ गरेको हो ।
अमृतले २४ वर्षीया महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३ गते कुवेतमा घरायसी काममा लगाई दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्याएका थिए । श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् ।
अमृतमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।