२५ माघ, काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी र तदर्थ समितिका २५ सदस्यीय टोली तथा अन्य सहकारीकर्मीले सहकारी विभागमा फाइल पेश गरेका छन् ।
फाइल बुझाउने कार्यक्रममा नेपाली काग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्त्री आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेल सहितको सहभागिता रहेको थियो ।
प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पुर्ण कागजातसहित प्रक्रिया पुरा गरी बैंक दर्ता गर्न पाँच सय ६९ फाइल विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरे । फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रियाअघि बढाउने जानकारी दिए । “विधिबत रुपमा फाइल बुझेका छौं ।
अपुग भएमा फेरी कागजात मागेर प्रक्रिया थाल्ने छौं । दर्ता प्रक्रियामा विभागले सहयोग गर्नेछ,” पाण्डेले भने । बैंक दर्ताको लागि पाँच सय एक फाइल आवश्यक पर्छ । तीन अर्ब पुँजी आवश्यक पर्नेमा आठ अर्ब पुँजी तयार भएको प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले बताए ।