१९ फागुन, काठमाडौं । ललितपुर र सिन्धुपाल्चोकका थप तीन सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतले २४.६ करोड सहयोग गर्ने भएको छ । भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले बुधबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
भारतीय दूतावासले जारी गरेको विज्ञप्तिअनुसार ललितपुरस्थित जेष्ठ वर्ण महाविहार, सिन्धुपाल्चोकस्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा गरी तीनवटा सम्पदा परेका छन् । इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठ वर्ण महाविहारको पुनःस्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले सहयोग गर्ने जनाइएको छ ।