२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । जसपा अध्यक्ष ठाकुर र नेता महतोले आइतबार प्रधानमन्त्री ओलीलाई बालुवाटामार भेटेर आफूहरूले मत दिन नसक्ने जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीसँगको भेटपछि महतोले भने, ‘हामीले सरकारलाई विश्वासको मत दिन नसकिने जानकारी गरायौं ।’ आफूले उठाएका कतिपय माग/मुद्दा सम्बोधन भएपनि कति सम्बोधनको प्रक्रियामा रहेकाले विश्वासको मत दिन नसकिने अवगत गराएको उनले बताए ।
उनले भने, ‘सबै माग सम्बोधन भइनसकेको अवस्थामा पार्टीलाई जोगाउनुपर्ने भएकाले हामी तपाईंको पक्षमा पनि हुँदैनौं, विपक्षमा पनि जाँदैनौं । तटस्थ रहन्छौं ।’ यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले आफ्ना केही माग सरकारले पूरा गरेको र केही प्रक्रियामा रहेकाले विपक्षमा भोट हाल्न नसकिने अवगत गराएका थिए ।