देश विकासको बहस जब—जब उठ्छ , तब राजनितिक भाषण र आश्वासनहरु अगाडी आउँछन् । तर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनको पछिल्लो यही भाषणमुखी प्रवृत्तिमाथि कठोर प्रहार गरेको छ । उनका शब्दहरु केवल आलोचना होइनन्, देशको यथार्थ अवस्थाको ऐना हुन् ।
हाम्रा नेताहरु सत्ताको कुर्सी जोगाउने रणनीतिमा सधैं सक्रिय देखिन्छन् । शक्ति सन्तुलन, गठबन्धन र पदको गणित मिलाउन समय र उर्जा प्रशस्त खर्च हुन्छ । तर स्वदेशमै एउटा सानो सियो बनाउने कारखाना खोल्ने कुरा आउँदा राज्यको चासो हराएको देखिन्छ । यही नै हाम्रो विकासको सबै भन्दा ठूलो विडम्वना हो ।
अनुसन्धान र नवप्रवर्तन कुनै पनि राष्ट्रको भविष्यको आधार हुन् । तर नेपालमा यी क्षेत्रमा बजेट माग्दा सधै “पैसा छैन” भन्ने जवाफ दोहोरिन्छ । आश्चर्य त के छ भने, यही राज्य संयन्त्रले कार्यकर्ता पाल्न, विलासी गाडी चढ्न र अनुत्पादन खर्चमा अर्बौँ रुपैयाँ सहजै व्यवस्थापन गरिएको छ । प्राथमिकता गलत ठाउँमा हँदा परिणाम पनि त्यही अनुसार निस्किनु स्वभाविक हो ।
महावीर पुनको चेतावनी गुनासो मात्र होइन्, निति निर्माताका लागि आत्मसमीक्षाको आह्वान हो । यदि देशलाई आत्मनिर्भर बनाउने हो भने भाषण होइन, उद्योग, अनुसन्धान र उत्पादनलाई केन्द्रमा राख्नुपर्छ । नत्र, विकासका सपना भाषणमै सीमित रहनेछ र देश गफमै अल्झिरहनेछ ।