२४ माघ, काठमाडौं । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज (शनिबार) प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्दैछन् । कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार आज देशभर प्रदर्शन हुन लागेको हो ।
गत पुस ५ गते सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेसँगै कांग्रेसले सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध गर्दै आएको छ ।
विरोध प्रदर्शन अन्तर्गत आज १८ शुभेच्छुक संस्थाहरुले देशभर सरकार र संसद विघटनविरुद्ध प्रदर्शन गर्न लागेका हुन् । संस्थाहरुले आज काठमाडौंमा मानव साङ्लो बनाउने भएका छन् ।
शुभेच्छुक संस्थाहरुले काठमाडौं उपत्यकामा कालो पट्टी, मास्कसहित भौतिक दूरी कायम गर्दै नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर मौन विरोध प्रदर्शन गर्ने भएका छन् । उनीहरुले मानव साङ्लो बनाएर टुँडिखेल घेर्नेछन् ।
प्रतिक्रिया दिनुहोस