२६ मंसिर, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागरमा विकसित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । अहिले प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।
यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले आज देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईका अधिकांश भूभागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।